भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल भन्छन्–‘नेपालसँग सम्बन्ध बिग्रिनुमा मोदी र भारत नै जिम्मेवार’

काठमाडौं। भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हरवन्त सिंहले नेपालसँग भारतको सम्बन्ध बिग्रिनुमा भारत आफैं जिम्मेवार रहेको बताएका छन् । भारतीय अखबार द सिटिजनमा एक लेख प्रकाशित गर्दै सिंहले भारतका नीति निर्माताले आफ्नो लागि नेपालको भू रणनीतिक महत्वलाई कहिल्यै उच्च सम्मान नदिएको र चीनले भारतमाथि दबाब बढाउनका लागि नेपालमाथि प्रभाव बढाउनुपर्ने तथ्यलाई बुझेकै कारण चीन नेपाललाई आफ्नो प्रभावमा लिन सफल भएको बताएका छन् । भारतले नेपालप्रति ‘ठूल्दाई’ प्रवृत्ति देखाएको र यही अवसरको चीनले सदुपयोग गर्दा नेपाल भारतबाट टाढिएको उनको विश्लेषण छ ।

सिंहले लेखेका छन् –‘नेपालको आन्तरिक राजनीतिमा भारतको अनावश्यक हस्तक्षेप र यही बेलामा नेपालमाथि नाकाबन्दीका बेला चीन नेपाललाई इन्धन र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन अघि सर्यो । नेपाललाई यी चीजको अत्यन्तै आवश्यकता थियो र यसले नेपालमा चीनलाई प्रभाव बढाउन सघायो ।’ नेपालको आन्तरिक राजनैतिक संघर्ष, मधेसीहरुका विषयमा बन्ने नीतिमा हस्तक्षेप लगायत धेरै मुद्दामा भारतले नेपालप्रति ठूल्दाइ रवैया अपनाएका कारण सम्बन्धमा असन्तुष्टि बढेको सिंहले लेखेका छन् ।

सिंहले अगाडि लेखेका छन् ‘आफ्नो भारत भ्रमणको क्रममा चिनियाँ राष्ट्रपतिले प्रस्ट धारणा राखेको भए पनि उनले यो भ्रमणलाई दुई दिने काठमाडौं भ्रमणसम्म लम्ब्याए जहाँ उनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई जोगाउन बेइजिङ सधैं रक्षकको रुपमा रहने विश्वस दिलाए, जुन नेपाल सरकारको लागि अत्यन्तै आवश्यक कुरा हो । काठमाडौं र नयाँ दिल्लीबीच बढ्दो तनावका बीचय यसको झनै ठूलो आवश्यकता छ । र, यसमा भारतको तर्फबाट हुनुपर्ने पहलमा अत्यन्तै ढिलाइ भइरहेको छ ।’

सिंह लेख्छन् ‘चीन नेपाल सरकारको विश्वास र यहाँका जनताको समथन जित्न सफल भएको छ । चीनले नेपालमा राष्ट्रिय रक्षा विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव पनि गरेको छ । दुई देशले २० वटा छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर गरेका छन् र यसका लागि चीनले ४९५ मिलियन अमेरिकी डलर नेपालमा लगानी गर्दैछ । चीनले काडमाडौंसम्म ट्रान्स हिमालयन रेलवे विकास गर्दैछ र पछि यसलाई भारतको सीमासम्म विस्तार गर्ने योजना छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) नेपालसम्म विस्तार गरिएको छ । चीनले केही सडकहरु निर्माण गर्ने जिम्मेवारी पनि लिएको छ र तातोपानी रुटको विकल्पमा काठमाडौं–रसुवागढी तथा काठमाडौं–केरुङ सडक विस्तार गर्दैछ ।’

सिंह लेख्छन् ‘तिब्बतसँगको यस्तो सम्बन्धले नेपालको चिनियाँ अर्थतन्त्रसम्म पहुँच विस्तार गर्नेछ र यसले अन्ततः खुला सिमाबाट भारतमा चिनियाँ उत्पादनको बाढी ल्याउनेछ । यसले भारतको सुरक्षालाई मात्र असर गर्दैन यसले एकातर्फ भारतमा चिनियाँ सामानको तस्करी बढाउनेछ भने अर्कोतर्फ भारतीय उत्पादनका लागि नेपाली बजार गुमेपछि यसले आत्मनिर्भर भारतको योजनालाई पनि प्रभावित गर्नेछ । एक करोडभन्दा धेरै नेपाली भारतमा बस्छन् र काम गर्छन् । भारतमा गोर्खालीको पूरै रेजिमेन्ट छ जसमा करिब २० हजार जवान छन् र करिब ८० हजार अवकाशप्राप्त गोर्खालीहरु नेपालमा बस्छन् र भारतबाट पेन्सन लिन्छन् । दुई देशबीच वर्षैं पुरानो सम्बन्ध र समानता छ तर अब यो भारतको हातबाट चिप्लिँदैछ । र, यसमा सबैभन्दा ठूलो कमजोरी भारतको अनुचित व्यवहार हो ।’

सिंह थप्छन् ‘अहिले चीनले गोर्खालीहरुलाई चिनियाँ सेनामा भर्ना गर्ने कोसिस गरिरहेको छ र यही समयमा गोर्खालीहरुलाई भारतीय सेनामा भर्ना हुन निरुत्साहित गरियो । यसले भारतीय सेनामा रहेका गोर्खाली सैनिकहरुलाई चीनको लागि जासुसी गर्न प्रेरित गर्ने सम्भावना रहन्छ । चीन नेपालमा प्रभाव विस्तार गर्न अग्रसर रहनेछ र यसले नेपालमाथि भारतको बाँकी रहेको प्रभाव पनि घटाउनेछ । चीनले नेपालमा कम्युनिस्ट पार्टीलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको छ र उसले ‘रेड कोरिडोर’ मा सक्रिय माओवादीहरुलाई हातहतियार उपलब्ध गराउन आफ्नो क्षेत्र प्रयोग गरिरहेको पनि दावी गरिएको छ । यसबाहेक नेपालमा भारतविरोधी भावना बढाउन नेपालस्थित चिनियाँ दूतावासले भारतसँगको सीमा क्षेत्रका बासिन्दालाई भारतविरोधी प्रदर्शन गर्न अढाइ करोड नेपाली रुपैयाँ बाँडेको पनि भनिएको छ । नेपाली स्कुलमा चिनियाँ भाषा समावेश गर्ने प्रयास पनि भइरहेको छ । चीनले नेपाललाई कालापानी–लिपुलेक क्षेत्रमा दावी गर्नको लागि उक्साउन पनि सफल भएको छ । यतिमात्र होइन पाकिस्तानको आइएसआइले पनि नेपालबाट काम गरिरहेको छ ।’

सिंह अगाडि लेख्छन् ‘चीनले नेपाललाई नियन्त्रण गर्ने लक्ष्य राख्नेछ र सम्भवतः यो भारतको लागि सबैभन्दा खतरनाक हुनेछ । यसले चीनलाई भारतको निकै मध्यसम्म ल्याउनेछ र यसले सुरक्षा चिन्ता बढाउनेछ । गण्डक, कर्णाली, कोशी, राप्तीजस्ता कैयौं नदीहरु नेपालबाट भारततर्फ बग्छन् र यिनीहरुको बहावमाथि नियन्त्रण भारतका लागि विपत्तिजनक बन्न सक्छ । भारत अब ब्युँझिनुपर्छ र नेपालसँग धमिलिँदो सम्बन्ध सुधारका लागि आवश्यक कदम चाल्नुपर्छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छोड्नुपर्छ र चीनसँगको घनिष्ठ सम्बन्धका खतराहरु प्रस्ट पार्न कूटनैतिक उपाय अपनाउनुपर्छ ।’ डिसी नेपालबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety six ÷ thirty two =