फेरि कोभिड संक्रमण बढ्यो सावधानी अपनाऔंः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन् ।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए । उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित् हामी काभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए । कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताए । उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट । नुन पानीले गाल गुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने हो केही प्रसेन्ट बाँकी रहन्छ त्यही केही प्रसेन्टभित्र परियो भने गैगयो नी । त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 2