डडेल्धुरामा भैँसी खरिदमा रकम अनियमितता !

डडेल्धुरा : डडेल्धुरामा भैँसी खरिदमा अनियमितता भएको आरोप लागेको छ । परशुराम नगरपालिका वडा नम्बर ५ परिगाउँमा गरिल भैँसीपालन समूहले अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् ।

प्रतिभैँसी ८० हजार पर्ने भए पनि समूहले १ लाख रुपैयाँमा खरिद गरेको स्थानीयको आरोप छ । समितिले धनगढीको केसी डेरी, गाईभैँसी फार्ममा ८० हजारमा पाइने भैँसीलाई कञ्चपुरको सिद्धबाबा गाईभैँसीपालन तथा दाना उद्योगबाट १ लाख रुपैयाँमा खरिद गरेको स्थानीय धर्मदेव ओझाले बताए ।

धनगढीको केसी डेरी, गाईभैँसी फार्मले ८० हजारमा दिए पनि खरिद गर्न नदिएर कञ्चपुरको सिद्धबाबा गाईभैँसी फार्मबाट खरिद गरेको उनको आरोप छ । उनका अनुसार एकै जातको भैँसी भनेर फरक–फरक जातको दिइएको छ ।

लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत संघबाट २१ लाख ८० हजार, प्रदेश सरकारबाट २५ लाख, स्थानीय तहबाट २१ लाख ८० हजार र समूह तथा किसानबाट १४ लाख ४७ हजार ४ सय ८० गरी जम्मा ८३ लाख ७ हजार ४ सय ८० रुपैयाँमा भैँसी खरिद लगत संकलन भएको थियो ।

यसमध्ये समूहले ५२ लाखमा ५२ भैँसी मुर्रा प्रति १ लाख रुपैयाँ परेको लागत स्टिमेटमा देखाएको छ । राँगो खरिद तथा गोठ व्यस्थापनमा १ लाख २० हजार, पशु बिमा १३ सय ७० प्रतिभैँसी गरी ५२ भैँसी ७२ हजार ६ सय १०, ढुवानी प्रतिभैँसी ५ हजारका दरले २ लाख ६५ हजार, एआई सामग्री र नाइट्रोजन खरिद १ लाख, घासँको बिउ खरिद तथा घाँस विकास ५० हजार, चापाकटर १ प्रति १० हजारका दरले ५२ वटाको ५ लाख ४६ हजार रुपैयाँ देखाएको छ ।

यस्तै, तालिम २ लाख, लिटरमा नाप्ने भाँडा २ हजार, गोठ सुधार १० लाख ४० हजार, औषधी खरिद ७० हजार, समूह गठन १० हजार, अनुगमन बैठक तथा दैनिक भ्रमण भत्ता २ लाख २५ हजार, स्टेसानरी ५२ हजार ८ सय, मिल्क क्यान २ वटा ३० हजार, इन्धन ५० हजार ९ सय ९०, मिल्क क्यान ५२ वटा ५२ हजार कम्प्युटर मर्मत र प्रिन्टर मर्मत १८ हजार ६ सय, होडिङ बोर्ड निर्माण १० हजार, सार्वजनिक सुनुवाइमा ५० हजार रुपैयाँ लागेको लगत स्टिमेटमा उल्लेख छ ।

गरिल भैँसीपालन समूहले ४६ मुर्रा भैँसी सिद्धबाबा गाईभैँसीपालन फार्मबाट १ लाख रुपैयाँका दरले खरिद गरेको छ भने यस्तै खाले भैँसी धनगढी फार्मले ८० हजारमै दिने गरेको समितिका एक सदस्यको दाबी छ ।

‘यसमा बिल मिलाएर समितिले अनियमितता गरेको देखिन्छ,’ उनले भने, ‘म आफैं धनगढीको भैँसी फार्म गएर ८० हजार रुपैयाँमा लिएर आउँछु भनेको थिएँ । तर, समितिका साथीबाटै एउटै फार्मबाट १ लाख रुपैयाँ नै हाल्नुपर्छ भन्ने दबाब आयो ।’

धनगढी फार्ममा पुगेका समूहका सदस्य ओझाले पनि ६ वटा मुर्रा भैँसी ल्याउँदा समूहको दबाबले १ लाख रुपैयाँ नै तिर्नु परेको गुनासो गरे । उनले भने, ‘हिसाब–किताबमा अनियमितता भएको छ । मिलाउनुस् भनेका छौँ, नमिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जान्छौँ ।’

आफ्नै पदाधिकारीले अनियमितता गरेको समूहकै सदस्यहरूले थाहा पाएपछि अहिले किसानबाट लिएको २५ हजार रुपैयाँ फिर्ता दिने निर्णय गरेको सदस्य दानसिंह विष्टले बताए ।

मापदण्डविपरीत लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रममा जसको घरमा २ वटा भैँसी छन्, त्यसलाई समूहबाट थप एउटा भैँसी दिने भन्ने नियम बनाइएको छ । सुरुमा फर्म भर्दा घरमा २ वटा भैँसी नभएकालाई भर्न नदिए पनि पछि गरिल भैँसीपालन समूहले घरमा भैँसी नभएकालाई समेत वितरण गरेको कृषक वीरबहादुर साउदले सुनाए ।

समूहका मानिसले आफ्नो नजिकका मान्छेलाई भैँसी वितरण गरेको उनको गुनासो छ । मनोमानी ढंगले भैँसी खरिद गरेर आफूहरूलाई ढाँटेको उनको भनाइ छ । घरमा एउटा भैँसी भएकालाई भैँसी माग गर्दा नदिइएको कृषक हरि नाथले बताए । समूहका सदस्य धनबहादुर सिंहले भैँसी खरिद गर्दा खरिद समिति नबनाइएको जानकारी दिए ।

‘सुरुमा अध्यक्षलाई सोध्दा प्रतिभैँसी १ लाख १९ हजार रुपैयाँमा खरिद गरेको भन्थे । तर, लगत स्टिमेटमा भने प्रतिभैँसीको १ लाख देखाइएको छ,’ उनले भने ।

व्यावसायिक भैँसीपालन गर्न कार्यक्रम सञ्चालनमा आए पनि भैँसी खरिद गरेको १५ दिन नबित्दिै बिक्री गर्न थालेको स्थानीयको भनाइ छ । १ लाख रुपैयाँमा खरिद गरेको भैँसी बिरामी भएको भनेर कृषक दशरथ जोशीले २५ हजार रुपैयाँमा बिक्री गरेका छन्।

परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले स्टिमेट बनाउने मात्र आफूहरूको काम भएको दाबी गरे । भैँसी खरिद प्रक्रियाबारे जानकारी नभएको र पशु शाखामा गएर बुझ्न उनले आग्रह गरे ।

‘नगरपालिकाले ल्याएको होइन । पशु शाखाले पनि ल्याएको होइन । खरिद गर्ने काम समूहको हो । सस्तोमा खरिद गरोस् वा महँगोमा समूहको जिम्मामा पर्छ,’ उनले भने, ‘गुनासो आएपछि अब अनुगमन हुन्छ ।’

पशु सेवा साखा जोगबुढाका पसु चिकित्सक रतनबहादुर भण्डारीले आफ्नो काम स्वास्थ्य परीक्षण गर्ने मात्रै भएकाले अन्य जानकारी नभएको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = thirty