हाम्रो पार्टीको बहुमत छ, मेरो विजय पक्का : बादल

काठमाडौं : राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेका रामबहादुर थापा (बादल)ले आफ्नो विजय सुनिश्चित रहेको बताएका छन् । शुक्रबार हेटौंडा पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभाका मतदातामध्ये पार्टीसँग बढी मतभार रहेको बताए।

‘अहिले यो प्रदेशको ९ हजार ५ सय ६४ मत मध्ये हाम्रो पार्टीको ५ हजार १ सय ३० मत छ। त्यसकारण यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ’, उनले भने।

उनले पार्टीभित्रको अर्को समूह (माधव नेपाल) पक्षले अर्को उम्मेदवार (डा खिमलाल देवकोटा)लाई समर्थन गर्ने विषय हल्ला मात्रै भएको बताए। ‘त्यसको कुनै सम्भावना हामीले देखेका छैनौँ’, उनले भने।

बागतमती प्रदेशमा जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका हुन्। उनको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन्।

निर्वाचनमा थप दुई जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल पक्षको साझा उम्मेदवारको रुपमा डा खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावक माओवादीका प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेल र समर्थकमा कांग्रेस प्रदेश सभा सदस्य राधा घले छिन्।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ। सो पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।

तामाङको प्रस्तावकमा सुरेन्द्रराज गोसाईं र समर्थकमा प्रदेश सांसद सिर्जना सैजू छिन्। उनीहरु दुवै बागमती प्रदेश सभाका सदस्यहरु हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

95 − ninety three =