ओली नै पुनः प्रधानमन्त्री बन्ने पक्का

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल हुनुभएसँगै राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गर्नुभएको थियो ।

सरकार गठनका लागि दलहरूकाे प्रयास जारी रहेकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउने कसरत गरिरहेको छ । उता मधेसकेन्द्रित जनता समाजवादीका नेताहरू पनि आफ्नै दलकाे नेतृत्वका सरकार बनाउनेबारे कसरतमा जुटेका छन् । नयाँ सरकार बनाउन कांग्रेस र माओवादी नेताहरुले जनता समाजवादी पार्टीलाई मनाउन प्रयास पनि गर्दै आइरहेका छन् । तर, संस्थापन महन्थ ठाकुर पक्ष भने गठवन्धन सरकारको पक्षमा रहेको छैन । सो पक्ष आमचुनावमा जानुपर्छ भनिरहेको छ ।

आज बेलुकी ९ बजेसम्म विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न सके नयाँ सरकार गठन हुनेछ । तर, नसकेमा भने संसदमा रहेको सबैभन्दा धेरै सांसद भएको दलको नेतालाई संविधानको धारा ७६(३) को व्यवस्था अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नुहुनेछ ।

संसदमा अहिले कामचलाउ प्रधानमन्त्री ओली दलको नेता रहनुभएको नेकपा एमाले नै ठूलो दल छ । विपक्षी दलहरूले बहुमत पुर्याउन नसके ठूलो दलकाे हैसियतमा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुनेछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty two − forty five =