राजेन्द्रलाई संसदीय दलको नेता बनाएपछि जसपामा विवाद चर्कियो

काठमाडौं : जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले एकलौटी रूपमा संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाएपछि विवाद फेरि उत्कर्षमा पुगेको छ ।

लामो समय फरक पार्टीकै रूपमा अभ्यास गरिरहेका अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर विवाद समाधानउन्मुख गरेको सन्देश दिएका थिए । तर, त्यसै दिन ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र पठाएपछि विवाद पुनः बल्झिएको हो ।

जसपमा अहिले ठाकुर पक्ष संसदीय दलको नेता राजेन्द्र भइसकेको तर्क गरिरहेको छ भने उपेन्द्र पक्षले संसदीय दलको नेता प्रक्रियाले चयन हुने भन्दै कसैले पत्र पठाउँदैमा त्यसले वैधानिकता नपाउने दाबी गर्दै आएको छ । सहमतिमा यही जेठ ८ र ९ गते केन्द्रीय कार्यकारिणी समिति बैठक राखेका अध्यक्षद्वय पक्षका बीच भने कार्यकारिणी समितिमा विवाद हुने अवस्था बनेको छ ।

जसपा नेताप्रमोद साह पार्टी एकता हुँदा नै भएको भद्र सहमति उपेन्द्रले उल्लंघन गर्ने प्रयास गरेको बताउँछन् । “जति बेला हाम्रो पार्टी एकता भयो, त्यस बेला नै महन्थजी र उपेन्द्रजीलाई अध्यक्ष र बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको थियो,” साहले भने, “त्यसरी नै राजेन्द्र महतोजीलाई संसदीय दलको नेता मान्ने सहमति पनि त्यस बेला नै भएको हो ।” उनले उपेन्द्र यादवले भद्र सहमति उल्लंघनको प्रयास गरेपछि २० सांसदको उपस्थितिमा सर्वसम्मतिबाट महतोलाई संसदीय दलको नेता चयन जिकिर गरे । ।

“अध्यक्षद्वयबीचको सहमतिले पार्टी एकता जोगाउन महत्वपूर्ण काम गरेको छ,” यादवनिकटका नेता मोहम्मद इस्तियाक राईले भने, “तर, संसदीय दलको नेता चयनमा सहमति भएको होइन । त्यसमा हाम्रो सहमति छैन ।”

उनले संसदीय दलको नेता छनोटको आफ्नै प्रक्रिया रहेको भन्दै त्यो प्रक्रियाले नै संसदीय दलको नेता चयन गर्ने बताए । “कसैले पत्र पठाएर भन्दिदैमा कोही व्यक्ति संसदीय दलको नेता बन्दैन, त्यसका आफ्ना विधि र प्रक्रिया छन्, तीनै विधिबाट संसदीय दलको नेता चयन हुन्छ,” राईले भने, “आगामी बैठकमा संसदीय दलको विधान पारित हुनसक्छ । त्यसपछि नेता छनोटको काम हुनेछ ।” उनले नेता छनोटको प्रक्रिया सुरु नभएको, संसदीय दलको विधान नबनेको र विधानलाई कार्यकारिणी समितिले अनुमोदन नगरी लागु पनि नहुने बताए ।

तर, ठाकुर पक्षले भने संसदीय दलको विधान बनिसकेको र त्यही विधानानुसार संसदीय दलको नेता छनोट भएको भन्दै निर्णय सच्याउन खोजे पार्टीमा पुन समस्या आउने चेतावनी दिएको छ ।

“वैशाख २९ गते बबरमहलमा बसेको संसदीय दलको बैठकले विधान पारित गयो । त्यही विधानानुसार ३० गतेको संसदीय दल बैठकले सर्वसम्मतिमा संसदीय दलको नेता राजेन्द्र महतोजीलाई चयन गरेको छ,” ठाकुर पक्षका एक नेताले भने, “त्यसपछि हाम्रा मान्छेहरुलाई मन्त्री चाहियो कि पैसा चाहियो कि भन्दै फकाउने प्रयास भएको छ । त्यस्ता प्रयास असफल भएपछि अहिले अतिरञ्जित गर्ने प्रयास गरिँदै छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × 4 =