अग्रपंक्तिमा खटिएका ट्राफिक प्रहरी ! जसलाई हामीले भुल्नै हुदैन

काठमाडौ : सवारी आवगमन नियमित गर्न र सवारी ऐन बिरुद्धका गतिविधि नियन्त्रणको म्याण्डेट पाएका ट्राफिक प्रहरी उच्च प्रदूषण, स्वास्थ्य जोखिम र यतिबेला महामारी नभनेर सडकमा खटिएका छन् । उनीहरुका लागि आवश्यक स्वास्थ्य उपकरण समेतको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन ।

कोरोना संक्रमणका कारण अहिले राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । यस अवधिमा अनावश्यक हिँडडुल र गतिविधि गर्न पाइँदैन ।

जिल्ला प्रशासन कार्यालयहरुबाट सूचना नै जारी गरेर निषेधाज्ञाको उल्लंघन गरेमा कडा कारबाही हुने व्यहोरा सार्वजनिक भएका छन् । तर, धेरैले दैनिक रुपमा निषेधाज्ञाको उल्लंघन गर्दै आएका छन् ।

सरकारको निर्णय लागू गराउन, निषेधाज्ञा उल्लंघन गर्नेलाई सम्झाइबुझाइ र अटेर गर्नेलाई कारबाही गर्न यतिबेला सुरक्षा निकायका अधिकारीलाई भ्याइनभ्याइ छ । तिनै मध्येको एक निकाय हो, नेपाल प्रहरी अन्तर्गतको महानगरीय ट्राफिक प्रहरी महाशाखा १

काठमाडौं उपत्यकाका तीन जिल्ला हेर्ने जिम्मेबारी पाएको महाशाखाका करिब १५ सय जनशक्ति अहिले ‘सिफ्टवाइज’ रुपमा उपत्यकामा निषेधाज्ञा पालना गराउन खटिएका छन् । यिनै जनशक्ति मोबाइल टोली, छड्के जाँच लगायतका कामका लागि पनि खटिने गरेका छन् ।

निषेधाज्ञामा सडकमा खटिनु चुनौतीपूर्ण नै छ, एकातिर निषेधाज्ञा उल्लंघन गर्नेहरुसँग पौंठेजोरी, अर्कोतर्फ आफूलाई नै संक्रमण होला कि भन्ने पीर । तर पनि आफूहरुको ड्युटी सडकमा खटिनु र शान्ति सुरक्षा बलियो राख्नु भएकाले त्यसैमा खुसीसाथ खटिरहेको एक ट्राफिक प्रहरीले बताए ।

‘प्रशासनबाट कोरोना रोकथामका लागि सर्वसाधारण स्तरबाट पालना गर्नेपर्ने विषयहरु जारी भएको छ, त्यसलाई पालना गराउन खटिएका छौं,’ उनले भने, ‘धेरैजसो पास नभईकन पनि सवारी चलाउन खोज्नेहरु छन् । उनीहरुलाई रोक्न खोज्दा हामीसँग नै झगडा गर्न आउँछन् । सकेसम्म होल्डिङमा राखेर सम्झाइबुझाइ गर्छौं, अटेर गर्नेलाई मात्र कारबाहीको प्रक्रियामा जान्छौं ।’

जाँच र कारबाहीको क्रममा नजिक जानुपर्दा ट्राफिकलाई संक्रमणको जोखिम पनि उत्तिकै छ । अग्रपंक्तिमा खटिने उनीहरुलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउने घोषणा गत वर्ष नै गरेको हो । तर, हालसम्म पनि नपाएको महाशाखाका अर्का एक अधिकारी बताउँछन् ।

‘जोखिम भत्ता त कुरा मात्र भयो । गत वर्ष पनि पाएनौं । यो वर्ष पनि पाउने आशा छैन,’ उनले भने, ‘उही आफूले पाउने तलब लिने हो, ड्युटीमा खटिने हो ।’

महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले प्रशासनबाट जारी भएको समयतालिकाअनुसार सवारीसाधन चले÷नचलेको निगरानी र निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गर्ने काम ट्राफिक प्रहरीले गर्दै आएको पर्दाफासलाई जानकारी दिए ।

‘अटेर गर्नेलाई प्रशासनमा बुझाउनेसम्मको निर्देशन छ, तर अहिलेसम्म हामीले त्यस्तो गरिसकेका छैनौं,’ उनले भने, ‘त्यसो गर्दा सर्वसाधारणलाई ठूलो नोक्सानी हुने भएकाले सम्झाइबुझाइ गर्नमै जोड दिएका छौं । निषेधाज्ञामा पालनामा सर्वसाधारणको पनि सहयोग पाएका छौं ।’

उनका अनुसार हाल दैनिक २ हजारको हाराहारीमा सवारीसाधनले निषेधाज्ञा उल्लंघन गरी होल्डिङमा राखिने गरेको तथ्यांक छ ।

उनले मास्क लगाएर र अन्य स्वास्थ्य सावधानी अपनाएर फिल्डमा खटिएको जानकारी दिए । ‘प्रहरीलाई खोप लगाइएको छ, मास्क लगाउन हो, त्यसबाहेक संक्रमण अन्य स्रोतसाधन छैन,’ उनले भने, ‘सकेसम्म अलि टाढै रहेर सोधपुछ गर्ने, पास हेर्ने गर्दै आएका छौं ।’

सावधानी अपनाउँदा अपनाउँदै पनि ८० जनाको हाराहारीमा ट्राफिक प्रहरी संक्रमित भइसकेको उनले जानकारी दिए । ‘त्यसमा ६० जना निको भइसकेका छन् भने २० जना आइसोलेसनमा छन्,’ उनले भने ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले निषेधाज्ञा पालना गराउन उपत्यकामा ८२ वटा चेक प्वाइन्टहरुबाट बनाइएको पर्दाफासलाई बताए ।

‘ती चेकप्वाइन्टहरुमा महाशाखाका जनशक्ति ‘सिफ्टवाइज’ परिचालन गरेका छौं,’ उनले भने । जोखिमका बीच सुरक्षा मापदण्ड अपनाउँदै निषेधाज्ञा पालनामा ट्राफिक प्रहरी खटिरहेको उनले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = seventy