प्रहरीको लागि खुसीको खबर: वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने तयारी

काठमान्डौं : बढुवामा देखिएको समस्या समाधान गरी तल्लो तहका कर्मचारीको मनोबल उकास्न नेपाल प्रहरीले तीनवटा नयाँ पद थप्ने प्रस्ताव गरेको छ । वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्नका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

नायब निरीक्षक (सइ)बाट इन्स्पेक्टर तथा जवानबाट हवल्दार बढुवामा १५ वर्षभन्दा धेरै समय लाग्ने भएपछि तल्लो तहका प्रहरीमा धेरै असन्तुष्टि छ । पद थपेपछि बढुवा समयमै हुने र तल्ला कर्मचारीको मनोबल पनि बढाउने प्रहरी अधिकारीको भनाइ छ । सशस्त्र प्रहरीमा यसअघि नै यी पद कायम छन् । सेनामा पनि तल्लो तहमा धेरै पद छन् ।

प्रहरी नियमावली संशोधन गरेर नयाँ पद थप गर्न लागिएको हो । त्यसका लागि प्रहरी प्रधान कार्यालयले नियमावली संशोधनको मस्यौदा मन्त्रालयमा पेस गरिसकेको छ । गृहले कानुन तथा अर्थ मन्त्रालयसँग राय लिएर नियमावली संशोधन गर्नेछ । ‘केही पद थप्नेबारे छलफल भइरहेको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने ।

नयाँ पद थपिएमा सइबाट ६–७ वर्षमा वरिष्ठ सइ र वरिष्ठ सइबाट ६–७ वर्षमा इन्स्पेक्टरमा बढुवा हुनेछन् । ०६० मा सइमा बढुवा भएकाहरू अहिलेसम्म पनि सोही पदमा कार्यरत छन् । समयमा बढुवा नहुँदा कतिपयले त राजीनामा दिने गरेका छन् ।

त्यस्तै, जवानबाट हवल्दारमा बढुवामा हुन पनि १५ वर्षभन्दा धेरै समय लाग्ने अवस्था छ । जवानमा भर्ना भएका कतिपयले असइमा समेत नपुगी ३० वर्षे अवधि पुगेर अवकाश पाउने गरेका छन् । यो समस्या सम्बोधन गर्न जवानपछि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दारको पद सिर्जना गर्न लागिएको हो ।

सकेसम्म दरबन्दी थपेर, नभए हालकै दरबन्दीबाट मिलान गरेर नयाँ पद थप्नेबारे छलफल भइरहेको एक उच्च प्रहरी अधिकारीले बताए । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारम्भिक कामसमेत भइसकेको छ ।

तर, प्रहरी समायोजनका लागि केन्द्र र प्रदेशको संगठन तथा दरबन्दी संरचनासमेत स्वीकृत भइसकेकाले नयाँ पद तत्काल थप्दा समस्या हुन सक्ने गृह मन्त्रालयका केही अधिकारीहरूको भनाइ छ । यो खबर आजको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =